दफा २१
भौतिक प्रमाण परीक्षण गर्नु पर्ने
(१) कुनै कसूरको प्रकृतिबाट सम्बन्धित ब्यक्तिको रगत, वीर्य, रौँ वा शरीरको अन्य कुनै अङ्ग, हात हतियार वा चीज वस्तु वा डि.एन.ए. वा अन्य कुनै कुरा परीक्षण गर्दा कसूरदार पत्ता लगाउन कसूर सम्बन्धी प्रमाण उपलब्ध हुन सक्दछ भन्ने लागेमा अनुसन्धान अधिकारीले सरकारी चिकित्सक वा मान्यता प्राप्त प्रयोगशालामा त्यस्तो रगत, वीर्य, रौँ वा शरिरको कुनै अङ्ग, हातहतियार वा चीज वस्तु वा डी.एन.ए. वा विद्युतीय स्वरुपमा रहेको सामग्री वा अन्य कुनै भौतिक प्रमाण परीक्षण गराउन सक्नेछ ।
तर कुनै महिलाको शारीरिक अङ्ग जाँच गर्नु परेमा पाएसम्म महिला चिकित्सकद्वारा र त्यस्तो चिकित्सक उपलब्ध नभएमा महिलाको रोहवरमा पुरुष चिकित्सकबाट गराउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम परीक्षण गर्न आवश्यक पर्ने रगत, वीर्य, रौं वा अङ्ग, हातहतियार वा वस्तुको नमूना (स्याम्पल) उपलब्ध गराउन अनुसन्धान अधिकारीलाई सम्बन्धित ब्यक्तिले सहयोग गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम भएको परीक्षणको प्रतिवेदन सम्बन्धित चिकित्सक वा प्रयोगशालाले तयार गर्नु पर्नेछ ।